हाम्रो बारेमा

  

कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयमा हार्दिक स्वागत छ ।

आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व नियमावली २077 बमोजिम कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय मुख्य रुपमा नेपाल सरकारका विभिन्न निकायहरुले असुल उपरका लागि लेखि पठाएको सरकारी बाँकी रकम सम्बन्धित व्यक्ति/फर्म/संस्थाबाट असुल उपर गर्ने कामको लागि स्थापित केन्द्रीय निकाय हो । यो कार्यालय महालेखा नियन्त्रक कार्यालय मातहत रहेर कार्य सम्पादन गर्दै आइरहेको छ । यसको साथै बेरुजु फर्छ्यौट समितिको सचिवालय, आ.ब.२०५९/६० सम्मको बेरुजुको लगत कट्टा गर्ने कार्य र जीवित देवि कुमारीको पुजा गर्ने कार्य समेत यस कार्यालयले गर्दै आइरहेको छ । ऐतिहाँसिक रुपमा हेर्दा सम्भवत नेपालमा हाल संचालनमा रहेका कार्यालयहरु मध्ये यो सबै भन्दा पुरानो ईतिहाँस बोकेको सरकारी निकाय पनि हो ।


कुमारीचोक अड्डा

श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको पालामा विक्रम सम्वत १८२८  वैशाख ६ गते कुमारी चोक अड्डाको स्थापना भएको भन्ने ईतिहाँस पाइन्छ । कुमारी चोक अड्डा राज्यको हिसाबकिताब केन्द्रीय रूपमा जाँच गर्ने सरकारी अड्डाको रुपमा रहेको थियो । विभिन्न प्रशासनिक अड्डाका कर्मचारीहरूले गरेको आम्दानी र खर्चको विवरण जाँच गरेर दुरुस्त राख्नु कुमारी चोक अड्डाको मुख्य काम थियो । विवरण जाँच गर्दा अनियमित भएको पाइए सम्बन्धित कर्मचारीबाटै भराउने र गम्भीर अपराधका लागि दण्ड दिने समेत गरिन्थ्यो भन्ने भनाई पाइन्छ । राणाशासन कालमा देवानी तहसिल, फौजदारी तहसिल, कोतवाली तहसिल र कुमारीचोक तहसिल जस्ता अड्डाहरु पनि थिए । सोहि समयमा कुमारीचोकको काम वृद्धिहुदै गएपछि कुमारीचोक अड्डाले राख्नेगरेको अभिलेख राख्न गोश्वरा अभिलेख नामको नयाँ कार्यालयको स्थापना गरियो । राजस्व, आम्दानी र खर्चका स्याहा स्रेस्ता कुमारीचोक अड्डाबाट जाँच भएपछि सुरक्षित राख्नका लागि गोश्वरा तहविल अड्डामा पठाउन थालियो ।

२००७ सालको राजनैतिक परिवर्तन पछि लागु भएको अन्तरिम शासन विधानले आय व्ययको लेखापरीक्षण गर्न महालेखापरीक्षक रहने व्यवस्था गरिए पनि त्यसबखत महालेखापरीक्षकको कार्यालय गठन हुन सकेन । कुमारीचोक अड्डलाई २००८ सालमा राणा शासनकालमा दिईएको अधिकारको अन्तगरी महालेखापाल कार्यालय मातहत राखिएता पनि महालेखापरीक्षकको नियुक्ति नभएकोले २०१६ साल सम्म हिसाब जाँचका सम्बन्धमा कुमारीचोक अड्डाले सो काम गरिरहयो । नेपाल अधिराज्यको संविधान २०१५ बमोजिम २०१६ सालमा महालेखापरीक्षकको नियुक्ति गरि महालेखापरीक्षकको विभाग गठन भयो । सो विभागले महालेखापरीक्षकको कर्मचारी सम्बन्धी नियमावली २०१८ अनुसार कर्मचारी व्यवस्थापन गरी लेखापरीक्षण गर्ने काम २०१८ सालमा सुरु भई २०२० मा प्रथम प्रतिवेदन बुझाएको थियो भने वि.सं. २०१८/१२/२० मा जारी कुमारी चोक हिसाब जाँच नियमहरु २०१८ बमोजिम हिसाब जाँचको फारखको निस्सा महालेखा नियन्त्रकबाट हुने व्यवस्था गरियो । यसरी आय व्ययको हिसाब जाँच गर्ने तत्कालिन कुमारीचोकको भुमिका फरक रुपमा परिणत भयो र यो कार्यालयको काम पहिलेका स्रेस्ता राख्नेमा मात्र सिमित हुन गयो    २०५० साल श्रावण १ गते देखि कुमारीचोक गोश्वरा तहविल कार्यालय र केन्द्रीय तहसिल कार्यालय समेतलाई मिलाइ हालको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको रुपमा परिणत गरियो । २०५४ सालसम्म नेपाल सरकारका कार्यालयबाट पुराना स्रेस्ता जिम्मा लिई संरक्षण गरिराख्ने र सम्बन्धित कार्यालयबाट उक्त कागजात आवश्यक परि माग भइ आएमा सो कागजात तथा प्रमाण उपलब्ध गराउने तथा अनावश्यक कागजातहरु धुल्याउने कार्य गर्दै आएको थियो । त्यस बखत यस कार्यालयमा उपत्यका फाँट, मधेश फाँट, पहाड फाँट गरि ३ फाटहरुबाट कार्य सम्पादन हुँदै आएको थियो । २०५४ सालमा कुमारीचोक गोश्वरा तहविलमा रहेका नेपाल राज्यभरका विभिन्न ऐतिहाँसिक पुरातात्वीक, धार्मिक, साँस्कृतिक महत्वका कागजातहरु, विजन जाँच, सर्भे नापी सम्बन्धि कागजातहरु, विर्ता, गुठी र जग्गाको हकभोग सम्बन्धी कागजातहरु, आदेश, सवाल, सनद, खड्गनिशान आदी र आय व्यय स्याहा स्रेस्ता समेतका विभिन्न ऐतिहाँसिक कागजातहरु पुरातत्व विभाग/राष्ट्रिय अभिलेखालयलाई बुझाएको देखिन्छ ।

 

केन्द्रीय तहसिल

राणशासन कालमा स्रेस्ता अदालत गठन भएको र सो अदालतलाई पछि आएर काठमाण्डौ स्रेस्ता अदालत तहसिल बनाईयो । यसले सरकारी अड्डा अदालतबाट तोकिएको दण्ड जरिवाना आदी सरकारी बाँकी असुल तहसिल गर्ने कार्य गर्थ्यो । तत्कालिन स्रेस्ता तहसिल कार्यालयको कामगर्नेगरी २०३२/०८/१५ को मन्त्रीपरिषदको निर्णयवाट केन्द्रीय तहसिल कार्यालयको स्थापना भएको हो । सरकारी रकम असूल फर्छ्यौट ऐन २०२५ र नियमावली २०२७ र अन्य प्रचलित कानून बमोजिम जिम्मेवार व्यक्तिबाट असुलउपर गर्नुपर्ने रकम र सो समयसम्म स्रेस्ता तहसिल कार्यालयमा बक्यौता रहनगएका रकम कलमको लगत कसी असुल गर्ने, जफत भएका मालसामान लिलाम गरी राजस्व दाखिला गर्ने काम केन्द्रीय तहसिल कार्यालयले गर्ने गर्दथ्यो । सरकारी रकम असूल फर्छ्यौट ऐन २०२५ को दफा ९क मा केन्द्रीय तहसिल कार्यालयको कामको बारेमा उल्लेख हुँदा तत्कालिन स्रेस्ता तहसिल कार्यालयको कामगर्ने गरी केन्द्रीय तहसिल कार्यालयको स्थापना (गठन) भएको स्पष्ट हुन्छ । २०५० साल श्रावण १ गते देखि कुमारीचोक गोश्वरा तहविल कार्यालय समेतलाई यस कार्यालयमा गाभि हालको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको रुपमा परिणत गरेको थियो ।सो पश्चात २०७७ साल माघ १९ मा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०77 जारी हुँदा सम्म मिन्हा समितिको सचिवालयको रुपमा समेत कार्य गर्दै आईरहेको थियो ।

आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ तथा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली, २०77 बमोजिम कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले मुख्यरुपमा निम्न ४ वटा कार्यहरु सम्पादन गर्दै आइरहेको छः

 

१.  सरकारी बाँकी रकमको लगत कायम गर्ने र सो रकम असुल उपर गर्ने ।

सरकारी बाँकी अन्तर्गत चार किसिमका सरकारी बाँकी रकमहरुको लगत राख्ने र असुल उपर गर्ने कार्य गर्दछ । उक्त कार्यहरु निम्नानुसार रहेका छनः

 

१.१.   तेजारथ सापटी असूल गर्ने ।

प्रधानमन्त्री रणोद्विप सिंहका पालामा विशेष गरि कर्मचारीलाई नगद ऋण प्रदान गर्ने उदेश्यले स्थापित साविकको तेजारथ अड्डाबाट आ.ब. २०२८/२९ (कर्मचारी संचयकोषको स्थापना पछि तेजारथ अड्डाबाट कर्मचारीलाइ ऋण प्रदान गर्न छोडिएको ) सम्म कर्मचारिहरुलाई वितरण गरेको तेजारथ सापटी रकम मध्ये असुल हुन बाँकी रकम असूलीका लागि साविकको कौशितोषाखाना अड्डाबाट प्राप्त लगत अनुसारको सरकारी बाँकी रकम असुल गर्ने ।

१.२.   घरेलु तर्फको सरकारी बाँकी असुल गर्ने ।

घरेलु विकास समितिबाट विगतमा वितरण गरेको ऋण मध्ये असूल हुन बाँकी ऋणको प्राप्त लगत अनुसारको रकम सरकारी बाँकी सरह असुल गर्ने ।

 

१.३.   बेरुजुबापतको सरकारी बाँकी रकम असुल गर्ने ।

महालेखा परीक्षकको कार्यालयले नेपाल सरकारका कार्यालयहरुको श्रेस्ता लेखापरीक्षण गर्दा असुल फर्छ्यौट हनुपर्ने भनि बेरुजु उल्लेख भएको रकम सम्बन्धित कार्यालयले जिम्मेवार व्यक्ति/फर्म/संस्थाबाट असुल उपर गर्न नसकेमा सम्बन्धित मन्त्रालयको लेखाउत्तरदायी अधिकृतबाट सरकारी बाँकी सरह असुल उपर गर्न प्रमाणित भइ आएको रकमको विवरण लगत कसी असुल उपर गर्ने काम ।

 

१.४.   अन्य सरकारीबाँकी रकम असुल गर्ने

नेपाल सरकारका कुनै पनि निकायले कुनै पनि व्यक्ति/फर्म/संस्थाहरुबाट असुल उपर गर्नुपर्ने रकम असुल उपर गर्न नसकेमा सरकारी बाँकी सरह असूल उपरको लागि सम्बन्धित मन्त्रालयको लेखा उत्तरदायी अधिकृतबाट प्रमाणित भइ आएको रकमको सरकारी बाँकी रकमको लगत कायम गरी असुल उपर गर्ने काम ।

 

२.  बेरुजु फर्छ्यौट समितिको सचिवालयको रुपमा काम गर्ने ।

आर्थिक कार्यविधी तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ को दफा ४२ बमोजिम गठन हुने बेरुजु फर्छ्यौट समितिको सदस्य सचिव कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको कार्यालय प्रमुख हुने व्यवस्था भएकोले उक्त समितिहरुको सचिवालयको रुपमा यस कार्यालयले काम गर्ने गर्दछ । बेरुजु फर्छ्यौट समितिको गठन भएपछि बेरुजु फर्छ्यौटको लागि सम्बन्धित निकायहरुबाट लेखि आएपछि  समितिहरुमा बेरुजु फर्छ्यौट्टका कागजात तथा प्रस्तावहरु पेश गर्ने र समितिबाट भएका निर्णयहरुको जानकारी सम्बन्धित निकायहरुलाई उपलब्ध गराउने काम यस कार्यालयले गर्दछ ।

 

३.  आ.ब.२०५९/६० सम्मको बेरुजु लगत कट्टा सम्बन्धी काम ।

नेपाल सरकार (मन्त्रीपरिषद)को मिति २०६९/०६/११ को निर्णय बमोजिम आ.ब. २०५९/६० सम्मको बेरुजु मध्ये बेरुजु फर्छ्यौट समितिले फर्छ्यौट गरी बाँकी रहेको बेरुजुको लगत राख्ने र सो बेरुजु सम्बन्धित मन्त्रालयका लेखाउत्तरदायि अधिकृत वा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीबाट फर्छ्यौट गरि लगत कट्टाको लागि लेखि आएमा लगत कट्टा गर्ने कार्य यस कार्यालयलाई प्रदान गरिएको छ ।

 

४. नेपाल सरकारको प्रतिनिधिको रुपमा जिवित देवी कुमारीको पूजा गर्ने ।

परम्परादेखि चलिआएको जिवित देवी कुमारीको नेपाल सरकारको तर्फबाट इन्द्रजात्रा अघि प्रत्येक बर्ष बसन्तपुर स्थित कुमारी घरमा देवी कुमारीको पुजाआजा गर्ने कार्य यस कार्यालयले गर्दै आइरहेको छ ।